STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सरसफाइ अभियानले प्रदेशकै नयाँ पहिचान दिएको छ ः मन्त्री लम्साल

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ६, शुक्रबार

गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले पृथ्वीराजमार्ग क्षेत्रमा गरिएको सरसफाइ अभियानले गण्डकी प्रदेशकै नयाँ पहिचान दिएकोे बताउनुभएको छ । भम्रण वर्ष २०२० को अवसरमा तनहुँको ब्यास नगरपालिकाद्वारा आयोजित बृहत् राजमार्ग सरसफाइ अभियानको आज दमौलीमा उद्घाटन गर्दै उहाँले सरसफाइले सभ्य नागरिकको पहिचान दिने हुँदा यसतर्फ सबै लाग्नुपर्ने बताउनुभयो । मन्त्री लम्सालले भन्नुभयो, “आन्तरिक एवं बाह्य पर्यटक भ्रमणका लागि आउँदा कसैले नाक खुम्चाउन नपर्ने गरी प्रदेशमै नमूना सरसफाइ गरेर देखाउन सक्नुपर्दछ । ” गण्डकी प्रदेशको राजधानीको प्रवेशद्वार तनहुँलाई सरसफाइमैत्री बनाउनुपर्ने आवश्यकतामाथि जोड दिदैं उहाँले सार्वजनिकस्थलमा कसैले फोहर फ्याँकेमा कारवाही गरिने बताउनुभयो । “यसका लागि प्रदेश सरकारले विधेयक र कार्यक्रम ल्याउन लागेको छ”, उहाँले भन्नुभयो । मन्त्री लम्सालले यस अभियानमा नागरिक समाज, टोल विकास संस्था, आमा समूह, बुद्धिजीवी, राजनीतिक दल, कर्मचारी, विद्यार्थी लगायतका सबै क्षेत्रको सक्रिय सहभागिता हुनुपर्ने बताउनुभयो । ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सरसफाइ अभियानलाई निरन्तरता दिँदै जाने योजना नगरपालिकाको रहेको जानकारी दिनुभयो । उक्त अभियानअन्तर्गत जिल्लाको पूर्वमा मुग्लिनदेखि पश्चिममा कोत्रेसम्मको ७२ किलोमिटर राजमार्गमा एकैसाथ सरसफाइ गरिएको हो । सरसफाइ अभियानअन्तर्गत पृथ्वीराजमार्गमा पर्ने तीन गाउँपालिका र दुई नगरपालिका रहेका छन् । जसमा आँबुखैरेनी, बन्दिपुर गाउँपालिका, ब्यास नगरपालिका, म्याग्दे गाउँपालिका र पश्चिममा शुक्लागण्डकी नगरपालिका क्षेत्रमा सरसफाइ अभियान थालिएको हो । जिल्लाको आँबुखैरेनी गाउँपालिकामा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, ब्यास नगरपालिका—१२ मा जिल्ला समन्वय समितिका अध्यक्ष शान्तिरमण वाग्ले, प्रदेशसभा सदस्य दोबाटे विश्वकर्मा, ब्यास नगरपालिका—१ मा प्रदेशसभा सदस्य सरिता गुरुङ, ब्यासनगरपालिका–२, ३ र ४ मा पर्यटनमन्त्री विकास लम्साल, ब्यास नगरपालिका—५ चापघाटमा प्रतिनिधिसभा सदस्य कलिला खानले सरसफाइ कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
Categorized in राष्ट्रिय